मधेश प्रदेश सरकारलाई नेपाली कांग्रेसको समर्थन फिर्ता

नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरे पनि पछि सदनको सामना गर्ने अडानमा उभिएका थिए।
संसदीय दलका सांसद बीरेन्द्र सिंहले जनमत पार्टीको नेतृत्वमा कांग्रेसको सहभागितामा बनेको सरकारलाई दलहरूले नै फिर्ता बोलाइसकेपछि सरकारमा कांग्रेसको उपस्थितिको औचित्य नभएको भन्दै समर्थन फिर्ता गर्ने निर्णय गरिएको बताए।
यसअघि नेकपा एमालेले मुख्यमन्त्री सिंहलाई विश्वासको मतसम्म साथ दिने घोषणा गरिसकेको छ।