जवाङ खोलामा ठूलो पहिरो मुग्लिन–काठमाडौं सडकखण्ड बन्द

तु खबर संवाददाता
२०८२ आश्विन ७, मंगलवार ०९:४१

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा गएराति खसेको सुख्खा पहिरो अझै पन्छाउन सकिएको छैन। रातिदेखि निरन्तर पहिरो खसिरहेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ।

गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि तत्कालै ठूलो मात्रामा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो। प्रहरीले रातिदेखि नै पहिरो हटाउने प्रयास गरे पनि बिहान ५ बजेसम्म पनि निरन्तर सुख्खा पहिरो खसिरहेकाले बाटो खोल्न नसकिएको हो।

सडक बन्द हुँदा दशैंमा घर फर्किँदै गरेका तथा काम विशेषले गन्तव्यतर्फ हिँडेका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। चाडपर्वको मुखमा लाखौं यात्रु राजमार्गमा अड्किँदा थप समस्या देखिएको छ।

यसअघि गएको शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो दुई दिनसम्म पन्छाउन नसक्दा यात्रुले ठूलो सास्ती खेपेका थिए। उक्त सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको केही समयमै फेरि मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि यात्रुहरू पुनः समस्यामा परेका हुन्।

प्रहरीका अनुसार पहिरोको मात्रा ठूलो भएकाले आजै सडक पूर्ण रूपमा खोल्ने सम्भावना न्यून रहेको छ। यात्रुलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।