मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द हुने
मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टाका लागि बन्द गरिने भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइनखोला पुल नजिक खसेको पहिरो पूर्णरूपमा हटाउन आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधन रोक्ने निर्णय गरिएको हो । शुक्रबार खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध हुँदा दुई दिनसम्म गाडी चल्न सकेको थिएन ।
हिजो दिउँसो अबेरदेखि एकतर्फी मात्र गाडी चल्न थाले पनि अझै जोखिम भएकाले गएराति सडक बन्द गरिएको थियो । बिहानदेखि फेरि सञ्चालनमा आएको सडकलाई दिउँसो अस्थायी रूपमा रोक्ने र बाँकी पहिरो पन्छाउने काम निरन्तर हुने कार्यालयले जनाएको छ ।
सडक दुईतर्फी सुचारु गर्न बाँकी रहेको पहिरो पूर्णरूपमा हटाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।



