लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्डले औसत मूल्य गणना स्थगन गर्‍यो

तु खबर संवाददाता
२०८२ आश्विन ५, आईतवार ०९:४०
OLYMPUS DIGITAL CAMERA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई स्थगित गर्ने निर्णय गरेको छ।

शनिबार बसेको बोर्डको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै सो व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो।

बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता दिँदै औसत गणना प्रणाली स्थगित गरिएको हो। शनिबार बिहानदेखि नै दर्जनौं लगानीकर्ता बोर्ड परिसरमा भेला भई उक्त व्यवस्था खारेज गर्न दबाब दिइरहेका थिए।

यससँगै आजदेखि शेयर कारोबारमा १५ मिनेटको औसत मूल्य गणना हुनेछैन। पहिलेझैँ अन्तिम कारोबार मूल्यलाई नै आधार मानिने भएको छ।

गत चैत ७ गतेदेखि लागू भएको अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले बजारमा नकारात्मक प्रभाव पारेको भन्दै अधिकांश लगानीकर्ताले निरन्तर विरोध जनाइरहेका थिए।