नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध : हजारौं यात्रु अलपत्र

तु खबर संवाददाता
२०८२ आश्विन ४, शनिबार १२:०६

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ठूलो पहिरो खस्दा शुक्रबार साँझदेखि सडक अवरुद्ध बनेको छ । शुक्रबार साँझ ६ बजेदेखि लगातार खसेको पहिरोले करिब १५० मिटर सडक ढाकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सडक अवरुद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने यात्रुवाहक तथा मालवाहक सवारी साधन गन्तव्यमा पुग्न नसक्दा हजारौ यात्रु मुग्लिन र आबुखैरेनीमा अलपत्र परेका छन्। रातभर पटक–पटक ढुङ्गा र माटो खसिरहेकाले तत्काल पहिरो पन्छाउन सकिएको थिएन।

हाल पहिरो पन्छाउन ३ वटा लोडर र २ वटा एक्स्काभेटर परिचालन गरिएको छ। दुबै दिशाबाट सडक खोल्ने प्रयास जारी रहेको प्रशासनले जनाएको छ। माथिबाट निरन्तर ढुङ्गा खसिरहेकाले उद्धार तथा सफाइ कार्यमा कठिनाइ भइरहेको छ।

प्रशासनका अनुसार थप पहिरो नखसेमा करिब ४ घण्टाभित्र सडक सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ। साथै यात्रुलाई होसियारीपूर्वक यात्रा गर्न र जोखिमपूर्ण सडक प्रयोग नगर्न आग्रह गरिएको छ।