शेयर बजार सुधारका लागि अर्थ मन्त्रालय सक्रिय

तु खबर संवाददाता
२०८२ आश्विन ३, शुक्रबार १४:१२

काठमाडौँ । बिहीबार नेगेटिभ सर्किट लाग्दै शेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’मा उत्रिएका छन् । उनले पुँजी बजारमा देखिएका विसंगति तथा समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेका छन् ।

अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेश गर्नेछ ।

कार्यदलको संयोजकमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी नियुक्त भएका छन् भने सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरन्जन फूयाँल छन् । कार्यदलको सदस्य–सचिवको जिम्मेवारी अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सम्हाल्नेछन् ।

कार्यदलले प्रस्तुत गर्ने योजनामा बजार नियमन, लगानीकर्ता संरक्षण, प्रविधि सुधार र वित्तीय जानकारीको पारदर्शिता सुनिश्चित गर्ने उपायहरू समावेश हुने छन् । यस पहलले पुँजी बजारको दीगो विकास र आम लगानीकर्ताको हितमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।