सर्वोच्च अदालत त्रिपालमुनी, नौं दिनपछि पहिलो इजलास
काठमाडौं । जेन–जी आन्दोलनकारीले गत भदौ २४ गते ध्वस्त पारेको सर्वोच्च अदालत पुनः लयमा फर्कने प्रयासमा जुटेको छ। आन्दोलनकारीले सर्वोच्च भवन जलाएर तहस–नहस पारेको नौ दिनपछि आज पहिलो पटक इजलास बसेको हो।
सर्वोच्च प्रशासनका अनुसार आज दुई वटा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइ भएको छ। न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको बेग्लाबेग्लै इजलासमा मुद्दा सुनुवाइ गरिएको हो।
भवन ध्वस्त भएपछि सर्वोच्च परिसरमै पाल टाँगेर अस्थायी अदालत सञ्चालन गरिएको छ। ध्वस्त परिसरमा रहेका जलेका गाडीहरूको थुप्रो हटाई काठका सामान्य कुर्सी र टेबलको व्यवस्था गरिएको छ। एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र नजिकै कानुन व्यवसायी बस्ने गरी इजलास सञ्चालन गरिएको हो।
आन्दोलनका क्रममा सर्वोच्च अदालतका मुद्दा–मामिलासम्बन्धी कैयौं फाइल तथा सरकारी कागजातहरू जलेर नष्ट भएका थिए। विध्वंसपश्चात त्रिपालमुनी इजलास सञ्चालनमार्फत सर्वोच्च अदालत पुनः नियमित कार्यविधितर्फ फर्कन खोजिरहेको छ।
