नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको २० अर्ब चुक्ता पुँजि पुर्याउने उद्देश्यले शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
हकप्रद शेयर जारी गर्नुअघि कम्पनीभत्रबाट सूचना चुहाएर बजारमा शेयरको मूल्यमा चलखेल गरिएको थियो । नेपाल सरकारको लगानी रहेको सो कम्पनीले हकप्रद शेयर जारी गर्दा सरकारलाई समेत आर्थिक भार पर्ने भएकोले तत्कालको लागि हकप्रद शेयर जारी गर्ने कार्य रोकिएको हो ।
नेपाल पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजि १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी गर्दा नेपाल सरकारलाई छ अर्बभन्दा बढि आर्थिक भार पर्ने थियो ।



