गुरु पद्मसंभवको १५० फिट अग्लो मुर्ती निर्माणस्थलमा एबीसी केबल सहयोग

तु खबर संवाददाता
२०८२ आश्विन १, बुधबार १९:१०

मकवानपुर । भीमफेदी गाउँपालिका वडा नं. ९ मा गुरु पद्मसम्भवको १५० फिट अग्लो मुर्ती निर्माणका लागि गाउँपालिकाको समन्वयमा नेपाल विद्युत प्राधिकरणले ७ सय मिटर केबिसी बिजुलीको तार हस्तान्तरण गरेको छ ।

गाउँपालिका अध्यक्ष हिदम लामाको नेतृत्वमा सो विद्युतीय तार निर्माण समितिलाई हस्तान्तरण गरेको हो । बोधिचार्य फाउण्डेसनले बौद्ध धर्मका गुरु रिम्पोछेको तीर्थस्थलको रुपमा रहेको बसीफाँटस्थित तारेभिरको पहरामा मुर्ति निर्माण गर्न लागिएको हो ।

दक्षिण एसियाकै सबैभन्दा अग्लो मुर्ती निर्माण गर्न सो क्षेत्रमा हालसम्म विद्युतीकरण नहुँदा जेनेरेटर प्रयोग गर्नुपर्ने अवस्था भएकोले सो कार्यका लागि तार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

सोही स्थानमा ५०/५० फिट अग्लो गुरु ज्याड्रल रिन्पोछे र गुरु पेनोर रेन्पोछेको आकृति ढुङ्गामा कुंदेर निर्माण गर्ने कार्य पनि सुरु भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विश्वमै परिचित हुन सक्ने यो क्षेत्रलाई थप विकसित गराउन गाउँ पालिकाले हरसंभव प्रयास गर्ने पनि अध्यक्ष लामाले जानकारी दिए ।

भीमफेदी गाउँपालिका वडा नं. ९ बसीफाँटको तारेभीरमा गुरु पद्मसंभवको १५० फिट अग्लो मुर्ती निर्माणस्थल ।