काठमाडौँ उपत्यकामा कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा कर्फ्यु र निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ। उपत्यकासँगै देशका धेरै जिल्लामा पनि आज बिहानदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएको हो।
जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो। तर गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि परिस्थिति सहज बन्दै गएको छ।
आजदेखि उपत्यकामा केही सार्वजनिक सवारीसाधन चलेका छन् भने लामोदूरीका गाडीहरू पनि सञ्चालनमा आएका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हिजो बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यु लागु भएको थियो। त्यसपछि थप निर्णय नभएकाले अब आवश्यकताअनुसार स्थानीय प्रशासनले मात्र कर्फ्यु वा निषेधाज्ञा लागू गर्ने जनाएको छ।
यद्यपि, अझै पनि केही जिल्लामा कर्फ्यु र निषेधाज्ञा यथावत् रहे पनि अधिकांश क्षेत्रमा जनजीवन सामान्यतर्फ फर्किन थालेको देखिन्छ।