प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा आगजनी

काठमाडौँ । जेन जी आन्दोलन चर्कँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, बालकोटस्थित निजी निवासमा मंगलबार प्रदर्शनकारीले आगजनी गरेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका विभिन्न स्थानबाट ओली निवासतर्फ अघि बढेका थिए।
आन्दोलनकारीहरूले नाराबाजी गर्दै निवास परिसरमा आगो लगाएका हुन्। घटनाको क्रममा सुरक्षा निकायले नियन्त्रणमा लिन प्रयास गरे पनि आगो निभाउन केही समय लागेको स्थानीयले बताएका छन्।
यसअघि पनि प्रदर्शनकारीहरूले नेताहरूका घर, सरकारी कार्यालय, प्रहरी चौकी र पार्टी कार्यालयलाई निशाना बनाउँदै आएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङ, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा समेत आगजनी र तोडफोड भइसकेको छ।
जेन जी आन्दोलनलाई अहिंसात्मक र शान्तिपूर्ण भएको दाबी गर्दै आएका प्रदर्शनकारीहरूको आजको कदमले राजधानीमा थप तनावपूर्ण अवस्था सिर्जना गरेको छ।