रास्वपाका सबै सांसदको सामूहिक राजीनामाको तयारी

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार १२:२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। पार्टी कार्यालय बनस्थलीमा बसेको आकस्मिक संसदीय दलको बैठकले आजै संसदमा दिएको प्रतिनिधित्व त्याग गर्ने निर्णय गरेको हो।

जेन–जी आन्दोलन चर्किएपछि रास्वपा यो निष्कर्षमा पुगेको हो। पार्टी सभापति रवि लामिछानेले सोमबार नक्खु कारागारबाटै अपिल जारी गर्दै आफ्ना सांसदहरूलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए।

पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) का अनुसार सभापतिको निर्देशनअनुसार सामूहिक राजीनामा औपचारिक रूपमा घोषणा गर्ने प्रक्रिया सुरु भइसकेको छ। संसदमा रहेका सबै १९ जना सांसदको राजीनामा आउने उनले जानकारी दिए।

यसै क्रममा भर्खरै मात्र रास्वपाका सांसद असिम शाह र तोशिका कार्कीले व्यक्तिगत रूपमा राजीनामा घोषणा गरिसकेका छन्। बाँकी सांसदहरू पनि क्रमशः राजीनामा बुझाउने तयारीमा छन्।

रास्वपाले जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध गरिरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै सरकारसँग उनीहरूको माग तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।