जेनजी प्रदर्शन :आन्दोलनमा ९ जनाको मृत्यु, सयौं घाइते

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार १५:४९

काठमाडौं । देशको राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दै जाँदा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सयौं घाइते भएका छन् ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र व्याप्त भ्रष्टाचारको विरोधमा सुरु गरिएको जेन जीको आन्दोलन आज दिउँसो १२ बजेदेखि उग्र बनेपछि प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको आन्दोलनकारीहरूले दाबी गरेका छन् ।

काठमाडौंस्थित विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै १३० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको बताइएको छ भने सयौं अन्य अस्पतालहरूमा समेत भर्ना भएका छन् ।

अहिलेसम्म प्राप्त विवरणअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भइसकेको छ । यससँगै मृत्यु हुनेको संख्या ९ पुगेको पुष्टि भएको हो ।

मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ भने घाइतेहरूको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।