नयाँ बसपार्क नजिक घरमा छापा, करिब ४ करोड अवैध नगद बरामद
काठमाडौँ । राजधानीको नयाँ बसपार्क आसपासको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगदसहित छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोंगबुस्थित एक घरमा अप्रत्याशित छापा हालेको हो ।
छापामारीका क्रममा करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ । बरामद रकम कसरी संकलन गरिएको र यसको वास्तविक स्रोत के हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार रकमको मालिक र प्रयोगबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ । यससम्बन्धी थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको पनि प्रहरीको भनाइ छ ।
