राताम्य पुँजी बजारः दशैं र चलखेलको भुमरीमा लगानीकर्ता

तु खबर संवाददाता
२०८२ भाद्र १७, मंगलवार १५:२४

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दुमा शेयरको मूल्य वृद्धि हुने अपेक्षामा भारी खरिद अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको ठूलो रकम लगभग निष्फल भएको छ । यसका कारण सामान्य र सानो लगानीकर्ताहरू बजारको यस्तो चलखेलमा फस्ने अवस्था देखिएको छ जसले बजारको पारदर्शिता र लगानीकर्ताप्रतिको विश्वासमा गम्भीर प्रभाव पारेको छ ।

हाल बजारका सबै सूचकहरू सकारात्मक देखिए पनि बजारले उल्लेखनीय वृद्धि गर्न सकेको छैन। उनीहरू माफियाहरूको चलखेल, अनियमित गतिविधि र बजारमा संरचनागत कमजोरीलाई मुख्य कारणको रूपमा उल्लेख गर्दै आएका छन् । यसले गर्दा आफ्ना बचत लगानी गरेका नागरिकहरू जोखिममा परेको अनुभूति गर्दै चिन्तित बनेका छन् । उनीहरूले लगानीको दीर्घकालीन योजना पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

यता, केही लगानीकर्ताहरूले दशैं नजिकिँदै गर्दा बजारमा ठूलो गिरावट आएको बताउँदै आएका छन् । पर्वको समयमा आवश्यक खर्च र पैसाको जोहो सुरु भएपछि धेरैले आफ्ना शेयर बिक्री गरी तत्काल नाफा बुक गर्ने रणनीति अपनाएका छन् । यसले बजारमा अस्थिरता थप गरेको छ र लगानीकर्ताहरूबीच भविष्यको उतार–चढावप्रति सावधानी बढाएको छ । विश्लेषकहरू भन्छन्, यस्तो परिस्थितिमा लगानीकर्ताले सोचविचार गरी मात्र शेयर कारोबार गर्नु उपयुक्त हुन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) १७.७६ अकंले घटेर २७४४.०९ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ ललाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.४० प्रतिशत, विकास बैंकको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०..७६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ ।