दुग्ध विकास संस्थान अगाडि किसानको धर्ना, प्रहरी हस्तक्षेप
काठमाडौँ । दूधको मूल्य भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसानहरूले आज काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) कार्यालय अगाडि धर्ना दिएका छन् । अखिल नेपाल किसान महासंघको अगुवाइमा गरिएको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।
किसानहरूले दूधको मूल्य भुक्तानीका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । प्रदर्शनका क्रममा ‘दूध सडकमा फाल्नुपर्ने परिस्थितिबाट किसानलाई मुक्त गर’, ‘दुग्ध उत्पादक किसान मार्न पाइँदैन’ लेखिएका प्लेकार्डसमेत देखाइएको थियो ।
प्रदर्शनका क्रममा केहीबेर प्रहरी र किसानबीच घम्साघम्सी भएको थियो । किसानहरूले दुग्ध विकास संस्थानलगायत सम्बन्धित निकायले आफ्नो श्रमको उचित मूल्य नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।
