रुपन्देही-३ उपनिर्वाचन : रास्वपाले आज उम्मेदवार घोषणा गर्दै

रुपन्देही क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज उम्मेदवार घोषणा गर्ने भएको छ। दिउँसो साढे १ बजे बस्ने सचिवालय बैठकपछि उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी भएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
रुपन्देही-३ मा उम्मेदवार बन्न नौ जना आकांक्षी रहेका छन्। तीमध्ये सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री छन्। सम्भावित उम्मेदवारको रुपमा खरेल बढी चर्चामा छन।
यसअघि रास्वपाले भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मोबाइल एपमार्फत प्राथमिक निर्वाचन गरेको थियो। यसमा पार्टीका साधारण सदस्य, तहगत समिति र केन्द्रीय सदस्य गरी कुल २,७१६ मतदाता रहेकोमा १,५६७ मत खसेको थियो। मतदानमा साधारण सदस्यको अंकभार ८०, तहगत समितिको १० र केन्द्रीय सदस्यको १० राखिएको थियो। तर ६२ जना केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्र मतदान गरेको पाइएको छ।
रुपन्देही-३ मा उपनिर्वाचन कात्तिक १७ गते हुने छ। यसअघि २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विजयी सांसद दीपक बोहराको निधनपछि उक्त क्षेत्र रिक्त भएको थीयो।
सत्तारुढ नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।