वीरगन्जमा भण्डारीलाई भव्य स्वागत, एमाले राजनीतिमा तीव्र सक्रियता

तु खबर संवाददाता
२०८२ भाद्र १४, शनिबार ११:३९

शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता–कार्यकर्ताले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका छन्।

भण्डारी काठमाडौँबाट बाराको सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेकी थिइन्। सिमरामा समेत एमाले नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए। त्यसपछि वीरगन्ज पुग्दा स्थानीय महिला र कार्यकर्ताहरू लामबद्ध भएर उनको सम्मानमा सहभागी भए।

गत असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा उनले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। त्यसयता उनले आफ्नो सदस्यता नवीकरण भएको बताउँदै विभिन्न राजनीतिक गतिविधि तीव्र पारेकी छन्।

यद्यपि, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्टी सदस्यता खारेज गरेको दाबी गर्दै आएका छन्। पार्टी कार्यालयले ढोका बन्द गरेपछि भण्डारीले काठमाडौँको थापागाउँमा सम्पर्क कार्यालय खोलेर सक्रियता बढाएकी छन्। पूर्वउपाध्यक्षको हैसियतमा उनी अहिले एमाले राजनीतिमा पुनः सक्रिय बनेकी छिन्।