शेयर बजारमा सामान्य सुधारः कारोबार रकम खुम्चियो

काठमाडौँ — पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा पछिल्लो दुई दिन केही सुधार देखिएको छ। नेप्से परिसूचक ७.६० अंकले बढेर २७६८.८६ बिन्दुमा पुगेको छ। आज ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयरको कारोबार ४ अर्ब १८ करोडमा सम्पन्न भएको छ।
बजार बढ्दा लगानीकर्तामा थोरै भएपनि उत्साह देखिएको छ। मंगलबार ९ उपसूचक हरियो र ४ उपसूचक राताम्य भएका छन्। विशेष गरी विकास बैंक समूहको शेयर मूल्य १.२८ प्रतिशतले बढेको छ। आज १०१ कम्पनीको शेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ।
तर, बजार सुधारले निरन्तर घाटा भोगिरहेका लगानीकर्ताको मनोबल पर्याप्त रूपमा उठाउन सकेको छैन। मौद्रिक नीतिपछि बजार ३००० बिन्दु नजिक पुगेको समयमा ३२०० पार गर्ने आशामा लगानी गरेका धेरैले अहिले भारी घाटा व्यहोर्दै छन्।
विशेषज्ञका अनुसार, दशैँ–तिहार नजिकिँदै गर्दा नेपालीहरुले पैसाको आवश्यकता पूर्ति गर्न शेयर बिक्री गर्ने सम्भावना बढेको छ। यसले बजारमा थप दबाब पर्न सक्ने जोखिम रहेको छ। साथै, माफियाहरुको प्रलोभनमा शेयर खरिद गरेका लगानीकर्ताहरू मूल्य घट्दा निराश भएका छन्।