प्रि–आईपीओ नाममा ठगी रोक्न धितोपत्र बोर्डको चेतावनी


काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओको नाममा सर्वसाधारण लगानीकर्ताबाट अनधिकृत रूपमा रकम उठाउने कार्य तत्काल रोक्न चेतावनी दिएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जाल, इमेल र मोबाइल एसएमएसमार्फत चाँडै सार्वजनिक निष्काशन (आईपीओ) आउँदैछ भन्दै शेयर खरिद गर्न प्रस्ताव गर्ने प्रवृत्ति बढेपछि बोर्डले यसबारे गम्भीर ध्यानाकर्षण गराएको हो ।
बोर्डले मंगलबार प्रकाशित सूचनामा हाल प्रचलित कानुनमा प्रि–आईपीओ भन्ने कुनै व्यवस्था नभएको स्पष्ट पार्दै लगानीकर्तालाई यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कुनै संस्थाले ५० भन्दा बढी व्यक्तिलाई शेयर बिक्री वितरण गर्न चाहेमा अनिवार्य रूपमा बोर्डको स्वीकृतिसहित सार्वजनिक निष्काशनमार्फत मात्र गर्नुपर्ने प्रावधान छ ।
सूचनामा भनिएको छ, ‘सामाजिक सञ्जाल, इमेल र एसएमएसमार्फत केही व्यक्तिहरुले प्रि–आईपीओको नाममा कम्पनीका शेयर खरिद गर्न प्रस्ताव गरी अवैध रूपमा रकम उठाइरहेका छन् । यस्तो कार्य कानुन विपरीत मात्र नभई दण्डनीय अपराध पनि हो ।’
बोर्डमा आएका गुनासोअनुसार कतिपय कम्पनी वा समूहले चाँडै आईपीओ आउँदैछ भन्ने प्रलोभन देखाएर लगानीकर्ताबाट अग्रिम रकम उठाउने गरेको पाइएको छ । यसरी संकलित रकम वैधानिक नभएकाले लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउने खतरा रहने बोर्डको चेतावनी छ ।
धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत रहन आग्रह गर्दै भनेको छ, ‘बोर्डको स्वीकृति विना कुनै पनि कम्पनी वा संस्थाका शेयर खरिदबिक्री गर्न पाइँदैन । यसबाहेकका गतिविधिमा संलग्न हुनु कानुन विपरीत मात्र नभई व्यक्तिगत लगानीलाई जोखिममा पार्ने कार्य पनि हो ।’
बोर्डको चेतावनीले बजारमा फैलिएको भ्रमलाई हटाउँदै प्रि–आईपीओ नामक चलन कानुनी रूपमा अमान्य भएको स्पष्ट भएको छ । बोर्डले यस्ता अवैध कार्यमा संलग्न हुनेहरुलाई कानुनअनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।