उच्च शिक्षा अध्ययनमा ठूलो खर्च, विदेशियो एक खर्ब ३८ अर्ब
काठमाडौँ । देशभित्रै विभिन्न ठुलाठुला विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेतापनि ठूलो मात्रामा धनराशी उच्च शिक्षाका लागि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष यस शीर्षकमा एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ खर्चिएको थियो ।
शैक्षिक क्षेत्रमा निरन्तर धन बहिर्गमन भइरहेका बेला पर्यटनसम्बन्धी खर्च पनि तीव्र गतिमा बढेको छ । केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सो खर्च एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ मात्र थियो ।
यद्यपि, भ्रमण आय भने केही मात्रामा वृद्धि भएको छ । समीक्षा वर्षमा भ्रमण आय ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।
शिक्षा र भ्रमण दुबै क्षेत्रमा ठूलो परिमाणमा विदेशी मुद्राको बहिर्गमन भएपछि सेवा खाता घाटा झनै बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा पुगेको छ । अघिल्लो वर्ष सो घाटा ५५ अर्ब ८६ करोड रुपैयाँ मात्र थियो ।
मुलुकभित्र उच्च शिक्षाको गुणस्तर सुधार र पर्यटन खर्चलाई व्यवस्थापन गर्न सकेमा विदेशी मुद्रा बहिर्गमनमा केही नियन्त्रण हुने सम्भावना छ । तर हालको प्रवृत्तिले सेवा खातामा दीर्घकालीन दबाब पर्न सक्ने देखिन्छ ।



