राष्ट्र बैंकले गर्यो लघुवित्तहरूको लाभांश वितरण व्यवस्था संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण सम्बन्धी व्यवस्था संशोधन गरेको छ। राष्ट्र बैंकले आइतबार जारी परिपत्रमार्फत नयाँ व्यवस्था ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार लघुवित्त संस्थाहरूले लाभांश घोषणा वा वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात र पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन्।
यसअघि वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा राख्नुपर्ने बाध्यता थियो। तर संशोधित प्रावधानले अब लघुवित्तलाई राष्ट्र बैंकको मापदण्डअनुसार सिधै २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने सुविधा दिएको छ।