उखु बोकेरै किसानको माइतीघरमा धर्ना
काठमाडौं । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको अनुदान रकम आधा घटाएर ७० रुपैयाँबाट ३५ रुपैयाँ प्रतिक्विन्टलमा सीमित गरेपछि तराई–मधेशका किसानहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका छन् ।
आर्थिक वर्ष ०८१/०८२ को उखुको वक्यौता अनुदान भुक्तानी माग गर्दै आइतबारदेखि उखु उत्पादक महासंघ नेपालको अगुवाइमा १३ जिल्लाका किसानहरू माइतीघर मण्डलामा भेला भएका हुन् । किसानहरूले उखु बोकेरै सडकमा धर्ना बसेका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म विरोध कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् ।
महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेका छन् । तर सरकारले दिने कबुल गरेको अनुदान अझै नपाउँदा किसानहरू सडकमा उत्रन बाध्य भएका हुन् ।
किसानहरूले अनुदान रकम तत्काल प्रतिक्विन्टल ७० रुपैयाँकै दरले भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुमा लगाइएको भ्याट खारेज गर्नुपर्ने माग राखेका छन् ।
सरकारले बजेट अभाव देखाउँदै अनुदान घटाउने निर्णय गरेपछि आक्रोशित किसानहरू राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले माइतीघर मण्डलाबाट आन्दोलनलाई थप चर्काउने चेतावनी समेत दिएका छन् ।
