नाडा अटो शो आज समापन हुदै ऐतिहासिक सहभागिता

तु खबर संवाददाता
२०८२ भाद्र ८, आईतवार ११:२०

काठमाडौँ । पाँच दिनदेखि भव्यता र आकर्षणका साथ चलिरहेको ‘नाडा अटो शो–२०२५’ आज आइतबार भृकुटीमण्डपमा सम्पन्न हुदै  छ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजारलाई ऐतिहासिक उपलब्धिमा पुर्‍याएको आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

भदौ ७ गतेसम्म मात्र १ लाख ४९ हजार ८८१ दर्शकले प्रदर्शनी स्थलमा उपस्थित भई अवलोकन गरिसकेका छन् । यसले नेपाली जनसमुदाय नवीनतम प्रविधि, विद्युतीय सवारीसाधन र भविष्यका मोबिलिटी समाधानप्रति गहिरो चासो राखेको स्पष्ट देखाएको छ ।

१७औं संस्करणको ६ दिने अटो शोमा १ सय २५ भन्दा बढी अटो तथा सम्बन्धित ब्रान्ड प्रदर्शनीमा सहभागी भएका थिए । आगन्तुकलाई विशेष छुटसहित टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्ने सुविधा उपलब्ध गराइएको थियो ।

यसपटकको अटो शोका मुख्य आकर्षण युनिट्री रोबोटिक डग, अत्याधुनिक चारपांग्रे रोबोट्स र दीपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने ट्याक्सी) रहेका थिए । विगतका वर्षको तुलनामा यस पटक आगन्तुकको उपस्थिति उल्लेख्य रूपमा वृद्धि भएको आयोजकले जनाएको छ ।

समापनको पूर्वसन्ध्यामा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, सिजी होल्डिङ्ग्सका अध्यक्ष अरुणकुमार चौधरी लगायतले प्रदर्शनी अवलोकन गरेका थिए ।

प्रदर्शनीको क्रममा ‘सडक र यातायात’ तथा ‘मेड इन नेपाल’ विषयमा विशेष अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भए ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्षले अटो शोको सफलतालाई ऐतिहासिक शुभारम्भको रूपमा लिँदै भनेका छन्, “यसले हाम्रो अपेक्षा अझ बढाएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन तथा भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन थप आत्मविश्वास बढाएको छ।”