सरकारको कर निर्णयप्रति माओवादीको आपत्ती

तु खबर संवाददाता
२०८२ भाद्र ६, शुक्रबार १५:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले संसद् चलिरहेकै अवस्थामा करको दरमा हेरफेर गरेकोप्रति कडा आपत्ति जनाएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले भने, ‘अहिले संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना नबित्दै पहिलो चौमासिकमा सरकारले करको दरमा फेरबदल गरेको छ। हाम्रो दलको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

उपमहासचिव पुनले हाउस सञ्चालन भइरहेकै अवस्थामा करको दर फेरबदल गर्नु आर्थिक अपराध हुने बताए। उनले अर्थमन्त्री विष्णु पौडेलसँग यस विषयमा जवाफ माग्दै भने कि, ‘अर्थमन्त्रीले आफ्नो अयोग्यता स्विकार गर्नुपर्छ। नत्र यस कदममा गम्भीर स्वार्थ रहेको पुष्टि हुने छ।’