प्रधानमन्त्री ओलीद्वारा १७औँ नाडा अटो शो उद्घाटन

तु खबर संवाददाता
२०८२ भाद्र ३, मंगलवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित १७औँ नाडा अटो शोको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन र आविष्कारका माध्यमबाट विश्वले हासिल गरेको प्रगतिमा नेपाल पनि सहभागी हुनुपर्नेमा जोड दिए । उनले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले पूर्ण समर्थन गर्ने विश्वास दिलाउँदै लगानी र काम गर्न कुनै बाधा नरहेको बताए ।

‘हामीले आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘असन्तुष्ट हुने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको जस्तो लाग्छ ।

यस अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले नाडाले देशभर १० लाखभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको र करिब ३ हजार व्यवसायीलाई संगठित बनाएको जानकारी दिए । उनले अटो शो रोजगार, सीप विकास र अटो व्यवसायलाई बलियो बनाउन सहयोगी साबित भइरहेको उल्लेख गरे ।

‘अटो शो व्यवसायीहरूको थलो हो, यहाँ ४० प्रतिशतसम्म बुकिङ हुने गर्छ,’ उनले भने, ‘युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ ।’

चौधरीले यसपटकको अटो शोमा रोबोट र उड्ने कार समेत प्रदर्शन हुने जानकारी दिँदै सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरेकोमा खुशी व्यक्त गरे । साथै उनले अटो क्षेत्रमा हालको बजेट विगत १० वर्षकै उत्कृष्ट भएको टिप्पणी गरे ।

उनले नेपालमै एसेम्बलिङ र पार्टपुर्जा उत्पादन गर्न सके अटो क्षेत्र अझ बलियो हुनेमा विश्वास व्यक्त गरे ।