कांग्रेस र एमाले दुवैको आकस्मिक संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीले आकस्मिक रुपमा बैठक बोलाएका छन् ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ । पदाधिकारी बैठकपछि कांग्रेसका सांसदलाई सिंहदरबार बोलाइएको छ । कांग्रेस सांसदका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि सिंहदरबार उपस्थित हुन भनिएको छ ।
यस्तै, नेकपा एमालेले पनि आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको छ । एमाले सांसद सूर्य थापाका अनुसार बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । सांसदहरूलाई दलको कार्यालयका कर्मचारीले फोन गरेर बोलाइएको जानकारी आएको छ ।
बैठकको एजेन्डाबारे आधिकारिक रूपमा केही खुलाइएको छैन । तर, संसदमा विचाराधीन तथा विवादित विधेयकहरूबारे छलफल हुने सम्भावना सांसदहरूले व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बैठक भोलि (बुधबार) बस्ने भएपछि त्यसअघि दुवै ठूला दलले आकस्मिक बैठक बोलाउनु अर्थपूर्ण रूपमा हेरिएको छ ।