म अझै पनि एमालेकै कार्यकर्ता हु : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)कै संगठित सदस्य र कार्यकर्ता भएको स्पष्ट पारेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीसँगको ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै एमालेकै नीति–कार्यक्रमअनुसार अघि बढ्ने बताइन्।
भण्डारीले राष्ट्रपति पद आवधिक हुने भएकाले कार्यकाल सकिएपछि राजनीतिमा फर्कन कुनै अवरोध नहुने धारणा राखिन्। उनले भनिन्, “राजतन्त्र र गणतन्त्र फरक हो। राष्ट्रपति एउटा पद हो, यो आवधिक हुन्छ। कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि सामान्य सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्छन्।”
एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमालेकै भएको उल्लेख गर्दै उनले राष्ट्रपतिमा निर्वाचित हुँदा पनि पार्टीले विशेष निर्णय गरेर पठाएको र कार्यकालपछि विधिवत सदस्यता नवीकरण गरेको खुलासा गरिन्। “म ४५ वर्ष भयो एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हो,” उनले भनिन्।
व्यक्तिगत आलोचना र गुट चलाएको आरोपबारे सोध्दा भण्डारीले ती आरोप अस्वीकार गर्दै भनिन्, “मलाई गुट चलाउन आउँदै आउँदैन। म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन।”
मदन भण्डारी फाउन्डेसनबारे उठेका प्रश्नहरूमा उनले प्रतिक्रिया दिन चाहिनन् र पार्टीका नेताहरूसँग सोध्न आग्रह गरिन्।



