विद्युत वक्यौता असुलीमा खड्काको चेतावनी: उपभोग अनुसार बिल तिर्नैपर्छ

तु खबर संवाददाता
२०८२ भाद्र १, आईतवार १७:५१

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीप्रति आक्रोश पोख्दै तीव्र प्रतिक्रिया जनाएका छन् । आइतबार नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नाम नलिए पनि पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।

मन्त्री खड्काले कर्मचारीले तलब खानु पाप नहुने तर बिल ठिक छ कि छैन भनेर चेक गर्दा मात्रै पाप लाग्ने हो भन्दै प्रश्न उठाए । उनले अख्तियारलाई पत्र पठाएको भरमा आफू चुप लागेर नबस्ने चेतावनीसमेत दिए । “अख्तियारलाई राम्ररी चिन्छु, कुनै निकायको कुरा गरेर म तर्सिन्न,” मन्त्री खड्काले भने ।

उनले लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग भएको बिजुलीको प्रिमियम वक्यौता असुल गर्नुपर्नेमा जोड दिए । अर्थ मन्त्रालय अन्तर्गतका वक्यौतामा भने मिनाहादेखि घटाउने सम्भावना रहेको स्पष्ट पारे ।

उद्योग–व्यवसायीलाई निरन्तर बिजुली आपूर्ति गर्नुपर्ने भएकाले ‘घाँटी काटेर’ वक्यौता असुली गर्नु उपयुक्त नहुने बताए । तर उनले उपभोग अनुसारको बिल भने अनिवार्य तिर्नुपर्नेमा जोड दिए । “वक्यौता लिनु हुँदैन भनेको होइन, उपयोग गरेजति लिनुपर्छ । दर रेट र टिओडी मिटरजस्ता आधार छन्,” मन्त्री खड्काले भने ।

प्राधिकरणका कर्मचारीलाई प्रश्न गर्दै उनले भने, “तपाईंहरूले पठाएको चिठीको भरमा तिरेको हो कि बिल देखाएर तिरेको हो ? यत्रो वर्ष बिल किन नदिएको होला भनेर लागेको छैन ? बिल नदिने कर्मचारीलाई कारबाही गर्नुपर्ने होइन ?”

उनले मन्त्रालयमा आएको दिनदेखि नै वक्यौता उठाउन निरन्तर पहल गरेको दाबी गर्दै पटक–पटक बनेका समितिका प्रतिवेदन दराजमा थन्क्याइएको तर आफूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गराएको स्मरण गराए । विद्युत वक्यौता असुलीका लागि मन्त्रालयले समिति गठन गरिदिएको भए पनि त्यसलाई अदालतसम्म पुर्याएर अदालतलाई समेत प्रभावित पार्ने प्रयास भएको आरोप पनि उनले लगाए ।