रवि लामिछाने नख्खु कारागार स्थानान्तरण, समर्थकहरूको नाराबाजी

तु खबर संवाददाता
२०८२ श्रावण ३१, शनिबार १८:१५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देहीबाट स्थानान्तरण गरी ललितपुरस्थित नख्खु कारागार पुर्‍याइएको छ। कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णयअनुसार आज दिउँसो ३:१० बजे बुद्ध एयरको फ्लाइटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई उनलाई सिधै नख्खु कारागारमा सारिएको हो।

नख्खु कारागारमा पुगेपछि लामिछानेको स्वागत गर्न रास्वपाका सांसद, नेता तथा समर्थकहरू उपस्थित भएका थिए। उनीहरूले लामिछानेविरुद्धको मुद्दा प्रतिशोधित भएको भन्दै नाराबाजी गरेका छन्।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि निवेदन दिएका थिए। अदालतले समेत उनलाई पायक पर्ने कारागारमा सार्न आदेश दिएको भए पनि गृह प्रशासनले लामो समयसम्म प्रक्रिया रोकिदिएको थियो।

मानव अधिकार आयोगको टोलीले केही दिनअघि रुपन्देही कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानमाथि असुरक्षा रहेको बताएका थिए। त्यसपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।

कारागार विभागले लामिछानेलाई डिल्ली बजार कारागारमा राख्नुपर्ने माग भए पनि अन्ततः नख्खु कारागार पठाउने निर्णय गरेको हो।