रवि लामिछानेलाई रुपन्देहीबाट स्थानान्तरण गरी काठमाडौं ल्याइने

तु खबर संवाददाता
२०८२ श्रावण ३१, शनिबार १३:११
file-photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट आज (शनिवार) दिउँसो काठमाडौँको नख्खु कारागार स्थानान्तरण गर्न लागिएको छ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि निवेदन दिएका थिए। अदालतले समेत उनलाई पायक पर्ने कारागारमा सार्न आदेश दिएको भए पनि गृह प्रशासनले लामो समयदेखि प्रक्रिया रोकेको थियो।

मानव अधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्ने क्रममा लामिछानेले भैरहवामा आफ्नो ज्यानमाथि असुरक्षा रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।

कारागार विभागका अनुसार लामिछानेलाई आज दिउँसो ३ बजे रुपन्देहीबाट बुद्ध एयरको ३:१० बजेको फ्लाइटमार्फत ल्याइने र ललितपुरको नख्खु कारागारमा राखिने तयारी गरिएको छ।

लामिछानेको कारागार सरुवा प्रक्रिया लामो समय रोकिनुका कारण विभागलाई चर्को आलोचना भएको थियो। उनले निवेदनमा डिल्ली बजार कारागार माग गरे पनि विभागले उनलाई नख्खु कारागारमा पठाउने निर्णय गरेको हो।