नागढुंगा सुरुङ मार्ग प्रवेश शुल्क तोकियो, मोटरसाइकल प्रवेशमा प्रतिबन्ध
काठमाडौं – मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ। गत साउन २६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन्।
सडक विभागले तयार पारेको निर्देशिका अनुसार कार र भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने छ। मिनीबस र ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस र ठूला ट्रकले आउँदा २६० र जाँदा २०० रुपैयाँ, तथा भारी उपकरणयुक्त सवारीले आउँदा ६०० र जाँदा २५० रुपैयाँ तोकिएको छ।
निर्णयअनुसार मोटरसाइकल तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीलाई सुरुङ मार्ग प्रवेशमा प्रतिबन्ध लगाइएको छ। कुल १८ बुँदे निर्णयसहित सरकारले यो व्यवस्था लागू गर्ने तयारी गरेको हो।
