दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु

तु खबर संवाददाता
२०८२ श्रावण २८, बुधबार १६:३९

दक्षिण कोरिया । रोजगार अनुमति प्रणालीबाट कोरिया आएका एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । इलाम जिल्ला सुर्योदय नगरपालिका घर भएका ३४ वर्षीय सागर राईको मृत्यु भएको उनको परिवारले जनाएको छ ।

कोरियाको ख्यङ्जू भन्ने ठाउँमा कार्यरत राई ४ दिन अधि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उपचारको लागि उनलाई डोङ्गुक अस्पतालमा लगिएको र उपचारकै क्रममा  सोमबार मृत्युु भएको उनको परिवारले पुष्टि गरेको हो ।

मृतक राईको शव पोस्टमार्टम पश्चात् नेपाल पठाउने तयारी भइरहेको छ । मृतक राई २७ महिना अघि रोजगारीको सिलसिलामा कोरिया आएका थिए ।

त्यस्तै केही दिन अघि मात्रै लमजुङ घर भएका दिवस तामाङको उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएको कोरियास्थित नेपाली राजदुतावासले पुष्टि गरेको छ ।

कोरियाको ह्वासङ्गस्थित एक प्लास्टिक उद्योगमा कार्यरत उनको शव नेपाल पठाइसकिएको दूतावासका द्वितीय सचिव जेनिम अधिकारीले जानकारी दिए ।

अधिकारीले कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई केही समस्या परे राजदूतावासमा सम्पर्क गर्न आग्रह गर्दै कार्यस्थलमा काम गर्दा वा अन्य जुनसुकै समयमा पनि सुरक्षा सतर्कतालाई प्राथमिकता दिन आह्वानसमेत गरे ।

उनले राजदुतावासबाट कोरिया सरकारलाई श्रमिक सुरक्षाको विषयमा गम्भीर हुनसमेत आग्रह गरिएको बताए ।