कलंकी नापी कार्यालयका कार्यालयसहयोगी १३ हजार घुससहित रंगेहात पक्राउ

तु खबर संवाददाता
२०८२ श्रावण २७, मंगलवार १०:२२

काठमाडौं — काठमाडौंको नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित टोलीले उनलाई कार्यालय परिसरभित्रैबाट नियन्त्रणमा लिएको हो।

कुँवरले चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका एक सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले यसबारे अख्तियारलाई जानकारी दिएपछि निगरानी गरिएको थियो। निगरानीकै क्रममा उनले माग अनुसारको १३ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

घुस प्रकरणमा कार्यालयका प्रमुख र सर्भेक्षकको समेत संलग्नता हुनसक्ने आशंकामा प्रमुखको दुई थान र सर्भेक्षकको एक थान मोबाइल बरामद गरिएको छ। त्यस्तै, कुँवरको पनि एक थान मोबाइल बरामद गरिएको अख्तियारले जनाएको छ।