साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

तु खबर संवाददाता
२०८२ श्रावण २६, सोमबार १०:०१

काठमाडौँ — साउन महिनाको अन्तिम सोमबारको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनको सहज प्रवेशका लागि चार अलग-अलग मार्गबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो मित्रपार्क–दक्षिणामूर्ति हुँदै पश्चिम मूलढोकाबाट, तेस्रो जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम मूलढोकाबाट, र चौँथो पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको हो।

साउन महिना र सोमबार भगवान् शिवको विशेष महिना तथा बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा कोषले अतिरिक्त जुत्ता–चप्पल कक्षको व्यवस्था पनि गरेको छ।

यस वर्षको साउने सोमबारका लागि चक्रपथमा चारवटा बस भक्तजनको सुविधाका लागि चलाइएको छ। विवाहित महिलाले श्रीमान्को दीर्घायु र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबार व्रत बस्ने प्रचलन छ। शिवभक्तहरूले साउन महिनाभर ब्रत बसेर विशेष पूजा–आराधना गर्ने परम्परा पनि निर्वाह गर्दै आएका छन्।