अनलाइन ठगी चरममा: एक वर्षमै ८३ करोडभन्दा बढी रकम गायब
काठमाडौं । पछिल्लो समय अनलाइनमार्फत हुने ठगीको अवस्था डरलाग्दो बन्दै गएको छ। प्रविधिको तीव्र विस्तारसँगै सर्वसाधारण डिजिटल आपराधिक जालमा फँस्ने क्रम उल्लेख्य रूपमा बढेको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन ठगीका कारण सर्वसाधारणको ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ गायब भएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को ३४ करोड ७२ लाख १५ हजार ५११ रुपैयाँको तुलनामा २.४० गुणाले बढी हो, जसले अनलाइन आपराधिक क्रियाकलाप तीव्र गतिमा बढ्दै गएको देखाउँछ।
गत आर्थिक वर्षमा अनलाइन ठगीसम्बन्धी ६७५ मुद्दा दर्ता भएका छन्। यी घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८७ स्वदेशी (१७४ पुरुष र १३ महिला) र ३३ विदेशी नागरिक (२० पुरुष र १३ महिला) पक्राउ गरेको छ। अनलाइन बैंकिङमार्फत सबैभन्दा बढी ठगी भएको पाइएको छ, जसबाट ११ करोड ५४ लाख ४८ हजार रुपैयाँको हानि भएको छ। यससम्बन्धी ९२ मुद्दामा ५३ स्वदेशी (४१ पुरुष, ८ महिला) र १५ विदेशी (१२ पुरुष, ३ महिला) पक्राउ परेका छन्।
सामाजिक सञ्जालमार्फत गरिएको ठगी पनि उल्लेख्य छ। यस माध्यमबाट ६ करोड १६ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको अनुमान छ। यससम्बन्धी १५९ मुद्दामा ५५ जना पक्राउ परेका छन्। अनलाइन किनमेलमार्फत १ करोड ११ लाख ६१ हजार रुपैयाँ ठगी भएको छ, जसमा ३४ जना पक्राउ परेका छन्। वालेटका माध्यमबाट ९९ लाख ६० हजार रुपैयाँ ठगी भएको छ भने यसमा १४ जना पक्राउ परेका छन्।
अन्य माध्यमहरूमा लटरीको नाममा १ करोड ७१ लाख १३ हजार रुपैयाँ ठगी भएको छ, जसका ४८ मुद्दामा २ जना पक्राउ परेका छन्। पहिचान चोरी (आइडेन्टिटी थेफ्ट) बाट ४ लाख ३ हजार रुपैयाँ, स्प्यामबाट ३ लाख रुपैयाँ, स्क्यामबाट ८४ लाख ३८ हजार रुपैयाँ र फिसिङबाट १४ लाख १५ हजार रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ। फिसिङका घटनामा भने अहिलेसम्म कुनै पक्राउ भएको छैन।
विशेषज्ञहरूका अनुसार डिजिटल प्रविधिले जीवनलाई सहज र द्रुत बनाएको भए पनि अपराधीहरूले यही प्रविधिलाई दुरुपयोग गर्दै आर्थिक र मानसिक दुवै किसिमको क्षति पुर्याइरहेका छन्। यसले नागरिकमा अनलाइन सेवा र माध्यमप्रति रहेको विश्वासमा गम्भीर चुनौती खडा भएको छ।
