पोखरामा ११ भारतीयसहित अवैध सुन बरामद
काठमाडौँ – कास्कीको पोखरामा प्रहरीले अवैध सुन कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई ६ किलो ४ सय ग्राम सुनसहित पक्राउ गरेको छ। भारतको महाराष्ट्र र पश्चिम बङ्गालका स्थायी बासिन्दा रही पोखराका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरूलाई शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो।
पक्राउ परेकासँगै नगद ५ लाख १४ हजार रुपैयाँ र ४४४ तोला चाँदी समेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद गरिएको सुनको बजार मूल्य करिब ११ करोड १ लाख रुपैयाँ छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुन–चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो। सो क्रममा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन्।
प्रहरीले बरामद सुन, चाँदी र नगदसहित घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको जनाएको छ।
