विदेशी विनिमय नियममा संशोधन, सटही सीमा बढ्यो
काठमाडौँ – नेपाल राष्ट्र बैंकले ‘विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन’ संशोधन गर्दै विदेशी मुद्रा सटही सीमामा वृद्धि गरेको छ। अब भारतबाहेकका देशबाट सेवा आयात गर्दा एक पटकमा ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने व्यवस्था गरिएको छ। यसअघि यो सीमा ५ हजार डलर मात्र थियो।
नयाँ प्रावधानअनुसार नियामक निकायको सिफारिशमा वाणिज्य बैंकहरूले १५ हजार डलरसम्म सटही सुविधा उपलब्ध गराउन सक्नेछन्। पहिले यो सीमा १२ हजार डलर थियो।
त्यस्तै, नेपालमा कार्यरत विदेशी नागरिकले अब कर तिरेपछि आफ्नो सम्पूर्ण पारिश्रमिक स्वदेश लैजान पाउनेछन्। पहिले उनीहरूले करपछिको ७० प्रतिशत मात्र पठाउन पाउँथे। सञ्चय कोष, उपदानलगायत अन्य भुक्तानी पनि कर कटाएपछि पूर्ण रूपमा पठाउन सकिनेछ।
राष्ट्र बैंकले १५ हजार डलरभन्दा माथिको भुक्तानीका लागि नियामक निकायको सिफारिशसहित विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति अनिवार्य गरेको छ। नियामक निकाय नभएको वा सिफारिश हुन नसके पनि ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि विभागको स्वीकृति चाहिनेछ।
साथै, नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएशन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा अब राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
