भारतको बाढीमा परी ७ नेपालीको मृत्यु, केही बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्डमा मंलगबार आएको बाढीमा परी ७ जना नेपालीको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन्।
मजदूरीका लागि भारत गएका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना सो बाढीमा परी बेपत्ता भएका थिए। जसमध्ये ७ जनाले ज्यान गुमाएका छन् भने बाँकी ६ जना अझै बेपत्ता छन्।
भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा मंलगबार एक्कासी तीव्र धारको बाढी आएको थियो। बाढीको कारण धराली गाउँमा ठूलो धनजनको क्षति भएको छ।
बाढीमा परी कुशे जाजरकोटको टालेगाउँका कर्णबहादुर सिंह, रामबहादर सिंह, मानबहादुर सिंह, निमबहादुर सिंह, रविन सिंह र जनकबहादुर शाही र एकजना नाम नखुलेका व्यक्ति रहेका छन्।
भारतमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ।
