नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित प्रयास जारी : अर्थमन्त्री पौडेल

तु खबर संवाददाता
२०८२ श्रावण २०, मंगलवार १६:००

काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समयअघि नै नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न सरकारद्वारा संगठित र सघन प्रयास जारी रहेको बताएका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले नेपालले लिएको दृढ प्रतिबद्धता, कार्यान्वयनमुखी नीतिहरू र प्रभावकारी समन्वयका कारण ग्रे लिष्टबाट समय अगावै मुक्त हुने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुन तथा कार्ययोजना ‘दराजमा थन्काउन नभइ’ कार्यान्वयन र सार्थक परिणाम ल्याउन बनाइएको हो।

सरकारले आर्थिक वर्ष २०८० मा ल्याएको “सम्पत्ति शुद्धीकरण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन ऐन” मार्फत १९ वटा ऐनहरू संशोधन गरिएको जानकारी दिँदै उनले मनी लाउन्डरिङ रोकथामको नियमावली २०८१ लागू भइसकेको उल्लेख गरे।

त्यस्तै, ग्रे लिष्टबाट मुक्त हुन ‘शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२’ कार्यान्वयनमा ल्याइएको र एसिया प्यासिफिक ग्रुपबाट प्राप्त ‘री–रेटिङ’ रिपोर्टको ढाँचामा प्रतिवेदन पेश गर्न फाइनान्सियल इन्टेलिजेन्स युनिट  मार्फत तयारी भइरहेको जानकारी गराइयो।

अर्थमन्त्रीले बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायी, क्यासिनो व्यवसायी, र घरजग्गा कारोबार गर्ने संस्थाहरुलाई लक्षित गरी २०८२ मा जारी निर्देशनहरू कार्यान्वयनमा रहेको जानकारी पनि दिए।

त्यस्तै, निर्देशक समिति तथा समन्वय समितिका अतिरिक्त थप चारवटा कार्यान्वयन समन्वय संयन्त्र गठन गरी समन्वय, सहजीकरण, अनुगमन र निर्देशनको काम भइरहेको पौडेलले बताए।