बुटवल–नारायणगढ सडक २४ घण्टादेखि अवरुद्ध

तु खबर संवाददाता
२०८२ श्रावण २०, मंगलवार १३:३४

निरन्तर वर्षाका कारण खसेको पहिरोले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा सडक भासिएर र हिलो चिप्लो भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार लगातार पानी परिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ । विशेष गरी दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको छेउमै सडक भासिएको छ । हिजो ग्राभेल हालिएको भए पनि हिलोका कारण सवारी आवागमन सहज हुन सकेको छैन ।

सडकमा फसेका सवारी साधन हटाउन नसकिएको र यात्रुहरू लामो समयदेखि बाटोमै रोकिइरहेका कारण समस्या थपिएको प्रहरीले जनाएको छ । अहिले सयौं यात्रु र गाडीचालक बीच बाटोमै अलपत्र परेका छन् ।

बुटवल–नारायणगढ सडक विस्तारका क्रममा दाउन्ने पहाडमा गरिएको कटानपछि यो क्षेत्र सामान्य वर्षातमै जोखिमपूर्ण बन्ने गरेको छ । पछिल्ला वर्षा र पहिरोका घटनाले यो सडक खण्ड थप संवेदनशील बन्दै गएको यात्रु तथ गाडीचालकको गुनासो छ ।