बागमतीको छैठौं मुख्यमन्त्रीमा बानियाँ, आज ४ बजे शपथ
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो उनलाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।
बानियाँले आज साँझ ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
बानियाँले सोमबार नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदसहित ६४ जना सांसदहरूको समर्थनसहित सरकार गठनको दाबी गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।
यसअघि बागमतीका मुख्यमन्त्री रहेका कांग्रेस नेता बहादुर सिंह लामाले आइतबार राजीनामा दिएका थिए। लामाले ९ साउनमा आफ्नै पार्टीका सांसदहरुद्वारा दर्ता गरिएको अविश्वास प्रस्तावमा १३ साउनमा पराजित भएपछि दल नेताको हैसियत गुमाएका थिए। त्यसपछि १४ साउनमा भएको दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँ विजयी भएका थिए।
संसदीय दलको नेतामा बानियाँ बिजयी भएपछि मुख्यमन्त्री लामालाई सो पदबाट राजीनामा दिन चौतर्फी दबाब परेको थियो । विशेषतः अर्थमन्त्री कुन्दनराज काफ्लेले एकलौटी रुपमा बजेट बनाउने र आफूखुसी गरेपछि लामाले नियन्त्रण गर्न नसकेको भन्दै विवाद बढेको थियो ।



