स्वास्थ्य सेवा प्रभावकारी बनाउन २१ सय जनशक्ति थप्ने प्रस्ताव

तु खबर संवाददाता
२०८२ श्रावण १९, सोमबार १३:१६

काठमाडौं  – आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलका क्रममा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विशेष बैठक सम्पन्न भएको छ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालमा कार्यरत डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा सेवा विस्तार तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गरे। उनले स्वास्थ्य पहुँचलाई समान रूपमा विस्तार गर्न संघीय सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन डाक्टर, नर्सजस्ता दक्ष जनशक्ति अपरिहार्य रहेको बताए। जनशक्ति थपबारे अझ प्राविधिक परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता उनले जनाए।

बैठकमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई प्रदान गरिने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा निर्माणाधीन वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), जलन उपचार सेवा लगायतका विषयमा समेत विस्तृत छलफल भएको छ।