बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले बोलाएर मुख्यमन्त्री लामालाई राजीनामा दिन निर्देशन दिएपछि लामाले राजीनामा दिन लागेका हुन् ।
साउन १४ गते भएको संसदीय दलको निर्वाचनमा दलको नेतामा लामा इन्द्रबहादुर बानियाँसित पराजीत भएपछि उनीमाथि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब परेको थियो ।
मुख्यमन्त्री लामाले राजीनामा पूर्व केही सर्तहरु राखेको र सो सर्तहरु पार्टी सभापति देउवा र बागमती प्रदेश संसदीय दलका नेता बानियाँले पूरा गर्ने बताएपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार भएका हुन् ।
यसअघि मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो भने उनको क्याबिनेटका पाँच जना मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि बागमती प्रदेशको राजनीति गर्माएको छ ।



