दोङ्देमुनमा नेपालको झल्कोः विस्तार हुँदै नेपाली व्यवसाय र संस्कृति
सिओल । दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन नेपाली समुदायका लागि एउटा प्रमुख व्यापारिक एवम् सांस्कृतिक क्षेत्रको रुपमा स्थापित भएको छ । पछिल्लो केही वर्षमा, यहाँ नेपाली व्यापार व्यवसाय मात्रै नभई सांस्कृतिक केन्द्रहरुको समेत बृद्धि भएको छ ।
चारैतिर नेपाली होटल एवम् रेष्ट्रुरेन्ट, खुद्रा तथा ठूला पसल व्यवसाय मात्रै नभई पानदेखि चिया पसलसम्म । दोङ्देमुनमा पुग्दा जो कोही नेपालीले आफु विदेशिएको आभाष गर्न सक्दैन । नेपालीहरुको लागि कोरियामा विरानोपन केही पल मात्रै भएपनि भुलाउनसक्ने वातावरण बनेको छ, दोङ्देमुन ।
यस क्षेत्रमा नाङ्लो, लुम्बिनी, एभरेस्टलगायत ६० भन्दा बढी नेपाली रेष्टुरेन्टहरु सञ्चालित छन् । जसले नेपाली परिकार तथा संस्कृतिको प्रवद्र्धनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली मार्ट, रेमिट सेवा, ट्राभल एजेन्सी, परामर्श केन्द्र, मोबाइल पसल मात्रै नभई नेपालीहरुले सञ्चालन गरेको बुटिक, ब्युटिपार्लर, कपडा पसल र अन्य व्यावसायिक फर्महरु पनि दोङ्देमुनमा देख्न सकिन्छ ।
नेपाली समुदायबीच भेटघाटको अवसर मिल्ने, आत्मीयता साटासाट गर्ने, थलोको रुपमा स्थापित भएको छ दोङ्देमुन । विभिन्न संघ संस्थाको बैठक तथा औपचारिक कार्यक्रमहरुसमेत यस क्षेत्रमा आयोजना हुने भएकाले दोङ्देमुन क्षेत्रलाई कोरियामा ‘नेपाली स्ट्रिट’ को रुपमा चिनिने गरेको छ ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष दीपक पून दोङ्देमुन आउनासाथ नेपालमै रहेको भान हुने गरेको बताउँछन् । सामान्यता दोङ्देमुन नेपालीहरुको भेटघाटको केन्द्र बनिसकेको छ । यहाँ दैनिक हजारौँ नेपालीहरु कुनै न कुनै कारण भेला भइरहेका हुन्छन् । यस क्षेत्र भेटघाटको लागि मात्रै नभई सयौँ नेपाली परिवारहरुको स्थायी बासस्थानसमेत बनेको छ ।
यहाँ हरेक वर्ष दसैँ, तिहार, तिज, ल्होछार, फागु पूर्णिमालगायत नेपालीहरुको विभिन्न पर्वहरु आपसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ मनाइन्छ । कोरियामा क्रियाशील, भूगोल, राजनीति, जातीय एवम् सांस्कृतिक संस्थाहरुले दशैँमा टीका जमरा लगाउने, तिहारमा देउसी भैलो खेल्ने, तीजमा आपसमा जम्मा भएर दर खाने जस्ता कार्यक्रम आयोजना गर्दै आएका छन् । यसले नेपाली समुदायलाई परदेशमा पनि नेपालकै भान हुने गरेको छ भने कोरियामा नेपाली संस्कृतिको विस्तारसमेत भइरहेको छ ।
दोङ्देमुन नजिकै रहेको म्योगाक्सा, जोग्यसा, बोन्ग्योन्सालगायतका धार्मिक क्षेत्रहरु नेपालीहरुका लागि ध्यान र सांस्कृतिक आत्मीयताको केन्द्र बनेको छ । बौद्ध परम्परामा आस्था राख्ने नेपालीहरुले यहाँ बुद्ध जयन्तीमा भेला भएर शुभकामना साटासाट गर्ने गर्दछन् । रङ्गीचङ्गी परिधान, पुजा सामग्री र सांगीतिक प्रस्तुतीसहित चाडपर्व मनाउँदा उनीहरूलाई नेपालकै सम्झना आउने गर्दछ । यसले प्रवासी नेपालीहरूलाई धार्मिक र सांस्कृतिक जरा बलियो बनाउन सहयोग गरेको छ ।




