मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमाथि आज निर्णय गरिँदै

तु खबर संवाददाता
२०८२ श्रावण १३, मंगलवार ०७:४१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आजबाट प्रकृया अघि बढाइने भएको छ ।

गत साउन ९ गते नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा २१ प्रदेशसभा सदस्यले मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

चालु आर्थिक वर्षको बजेटमा अर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले मनलाग्दी गरेपछि विवाद सुरु भएको थियो । प्रदेशसभा सभा सदस्यहरुले काफ्लेलाई बर्खास्त गर्नुपर्ने माग गरेकोमा मुख्यमन्त्री लामाले त्यसलाई सुनुवाइ नगरेको, सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको र मुख्यमन्त्री लामाको भूमिका प्रभावकारी नभएको दावीसहित लामालाई दलको नेतामा कायमै राख्दा बागमतीमा कांग्रेस कमजोर हुने आंकलनसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

कांग्रेस संसदीय दलका सचिव कृष्ण तामाङले अविश्वासको प्रस्तावमाथि आजबाट प्रकृया अघि बढ्ने जानकारी दिएका छन् । दर्ता गरिएको प्रस्तावमा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता चयन गर्न समेत माग गरिएको छ ।