अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार)का प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी परेको छ। भ्रष्टाचारका विभिन्न चर्चित मुद्दामा संलग्न रहेको आरोप लगाउँदै राईविरुद्ध उजुरी आइतबार (साउन ११ गते) अख्तियारमै दर्ता गरिएको हो।
आफूलाई सामाजिक अभियन्ता बताउने युवराज सफलले उजुरी दिँदै वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा राईको संलग्नता रहेको दाबी गरेका छन्।
सफलले उजुरीमार्फत ती काण्डहरूमा प्रमुख आयुक्त राईमाथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही अघि बढाउन आग्रह गरेका छन्।
उनको भनाइअनुसार मिति २०७७ माघ २१ गतेदेखि अख्तियारको प्रमुख आयुक्तको रूपमा कार्यरत राईका बारेमा सार्वजनिक सञ्चारमाध्यमहरूमा भ्रष्टाचार काण्डमा संलग्न भएको विषय बारम्बार उठ्दै आएको छ।
उजुरीमा उल्लेख भएअनुसार २०८१ मंसिर २० गते विशेष अदालतले सार्वजनिक गरेको मुद्दा नं. ०८०–CR–०१४५ को फैसलामा पनि राईमाथि मुद्दा नचलाइएकोमा अदालतले स्पष्ट असहमति जनाएको छ। अदालतको निर्णयमा एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नगर्नु र कसैलाई अभियोजन गर्नु समान न्यायको सिद्धान्तविपरीत हुने उल्लेख गरिएको छ।
‘यस्तो कार्यले कानुन सबैका लागि समान हो भन्ने अवधारणामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ’ फैसलाको पुर्णपाठ उद्धृत गर्दै उजुरीमा भनिएको छ।
त्यसैगरी, वाइडबडी खरिद प्रक्रियासम्बन्धी निर्णय नेपाल वायुसेवा निगमको संचालक समिति अध्यक्षका हैसियतमा राईको उपस्थितिमा नै गरिएको प्रमाण सार्वजनिक भइसकेको उजुरीमा जनाइएको छ। त्यतिबेला उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसमेत थिए।