नेपाली समुदायको हितको लागि मेरो उम्मेदवारी: भट्टराई

तु खबर संवाददाता
२०८२ श्रावण ९, शुक्रबार २०:०९

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको दशौं महाधिवेशन शनिबार र आइतबार हुँदैछ । भोलि शनिबार अधिवेशनको उद्घाटन हुने जनाइएको छ । आइतबार भने नयाँ नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा हुँदैछ।

नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष हरीप्रसाद भट्टराई र वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

तु खबरले चुनावी मैदानमा होमिएका भट्टराईको बारेमा र उनको आगामी योजानाबारे जान्ने प्रयास गरेको छ । विद्यार्थी भिषामा दक्षिण कोरिया आएका भट्टराईले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । कोरियामा बिगत १५ वर्षदेखि बसोबास गर्दै आएका उनले हाल नेपाली समूदायलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेका छन् । सामाजिक कार्यमा समेत भट्टराई उत्तिकै सक्रिय छन् ।

अग्रजहरुको सुझावलाई ग्रहण गर्दै नेपाली समुदायसंग सम्बन्धित सबै क्षेत्र र संस्थाहरुसंगको समन्वय तथा एनआरएनएको संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको भट्टराई बताउँछन् ।

उनले विभाजन र समुहगत स्वार्थलाई अन्त्य गरी एकतावद्ध गर्दै सबै नेपालीलाई समेट्‌ने सबल, समावेशी र साझा मञ्चको रुपमा एनआरएनएलाई स्थापित गराउन पहल गर्ने योजना रहेको बताए ।

कोरियामा नेपाली भाषामा सवारी चालक अनुमती पत्रको परिक्षा संचालन गर्न पहल गर्ने, एनआरएनएको परिचयपत्रलाई परिचय पत्रको रुपमा मात्र प्रयोग नगरी दक्षिण कोरिया र नेपालमा विभिन्न सरकारी तथा अन्य सेवा सुबिधाहरु उपयोग गर्न मिल्ने अवस्था निर्माण गर्न पहल गर्ने, नेपालमा लगानी, पर्यटन र सीप भित्र्याउने, कोरियामा बढ्‌दो नेपालीहरूको संख्यासंगै सिर्जना भएको समस्यालाई सम्बोधन गर्न स्थानीय निकाय तथा नेपाल सरकारका सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै, व्यवहारिक समाधानको खोजी गर्ने उनको योजना छ ।

कोरिया-नेपाल सम्बन्ध प्रगाढ बनाउने, कोरियामा नेपाली साझा सांस्कृतिक घर निर्माण गर्ने, श्रमिकहरुको समस्या समाधानार्थ पहल गर्ने, सञ्चार क्षेत्रमा पहुँच बिस्तार गर्ने र विशेषगरी संस्थाभित्रको एकता र समन्वयमा जोड दिने लगाएतका थुप्रै योजना रहेको उनले सुनाए ।