वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न माग गर्दै हेटौंडाका जनप्रतिनिधि आन्दोलनमा

तु खबर संवाददाता
२०८२ श्रावण ४, आईतवार २१:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई स्थानीय प्रहरी प्रशासनले पक्राउ नगरेका कारण हेटौंडाका जनप्रतिनिधिहरुले आन्दोलन सुरु गरेका छन् ।

दोषीलाई कारवाहीको माग गर्दै हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आज जिल्ला प्रशासन कार्यालय परिसरभित्रै बाट सेवा प्रवाह गरी आन्दोलन गरेका हुन् ।

वडा कार्यालयमा बसेर काम गर्दा सुरक्षाको प्रत्याभूति नभएको र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेको उनीहरुको भनाई छ । आजबाट जिल्ला प्रशासन कार्यालयमा टेबुल राखेर सेवा प्रवाह गरिरहेको एक नम्बर वडाका अध्यक्ष सबिन न्यौपानेले बताए ।

घटना भएको महिनौँ बित्दा पनि प्रहरीले आक्रमणकारीलाई पक्राउ गरी सार्वजनिक गर्न सकेको छैन । दिउँसै कार्यकक्षमा प्रवेश गरी न्यौपानेमाथि आक्रमण भएको थियो र सो आक्रमणमा संलग्न भएकाहरुलाई अहिलेसम्म कानूनको दायरमा ल्याउन प्रहरीले सकेको छैन । हेटौंडाका उपप्रमुख राजेश बानियाँ सहितका प्रतिनिधिहरुले आजबाट विरोध प्रदर्शन सुरु गरेका छन् ।

घटनालगत्तै हेटौंडा उपमहानगरपालिकाले वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानूनी सजायको लागि माग गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले घटनालाई गम्भीरतापूर्वक नलिएको जनप्रतिनिधिहरुको भनाइ छ ।