नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज

तु खबर संवाददाता
२०८२ श्रावण ४, आईतवार २१:१३
file-photo

काठमाडौँ । सार्वजनिक निर्माण कार्यका लागि इजाजत लिएका तर समयमै नविकरण नगर्ने ३७ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूको इजाजत खारेज गरिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम २०८१ साल चैत मसान्तसम्म नविकरण नगरेका कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज भएको हो । सूचना अनुसार खारेज भएका कम्पनीहरूले निर्धारित समयसीमाभित्र नविकरणका लागि निवेदन नदिएको तथा कानुनी प्रक्रिया पनि नपूरा नगरेको उल्लेख छ ।

इजाजतपत्र खारेज गरिएका प्रमुख निर्माण कम्पनीहरूमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन, भ्याली स्टार विल्डर्स, गिरी कन्स्ट्रक्सन, डिलक्स द ब्रेभ वरियर अफ कन्स्ट्रक्सन, पारिजात निर्माण सेवा, इन्टरनेशनल इन्फ्रा विल्डर्स, आर.एम.भी. इन्जिनियर्स एण्ड विल्डर्स र शरदराज कोलाक्षपति कन्स्ट्रक्सन लगायत रहेका छन् ।

यस्ता कम्पनीहरूले सरकारी आयोजना, सडक निर्माण, पुल निर्माण तथा भौतिक पूर्वाधार निर्माणमा संलग्न हुँदै आएका थिए । तर, नविकरणको कानुनी दायित्व पूरा नगरेपछि अब ती कम्पनीहरू सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न हुन सक्ने छैनन् ।

मन्त्रालयले निर्माण व्यवसायमा अनुशासन कायम राख्न तथा पारदर्शिता सुनिश्चित गर्न इजाजत नविकरण नगर्ने कम्पनीहरूलाई समयमै सूचना दिइसकेको र अब यस्ता कम्पनीहरूमाथि कानुनी कारवाही अघि बढाइने जनाएको छ ।